चितवन,कात्तिक ८-
पूर्बी चितवनको रत्ननगरमा तेल बोकेको ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भई हाल मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २६ बर्षिय सुमन लुइटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्ब पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नम्बर १० भानुचोकमा टाँडीबाट नारायणगढ तर्फ आउँदै गरेको ना ८ ख २५५५ नम्बरको ट्याङ्करले सोही दिशा तर्फ आउँदै गरेको ना ३५ प ८७५६ नम्बरको मोटरसाईकललाई आज साँझ ५ः२५ बजे ठक्कर दिएको थियो ।उनि तिहारको टिका लगाउन हेटौडाबाट दिदीको भरतपुरस्थित घरमा जाँदै थिए ।
ठक्करबाट मोटरसाईकल चालक लुईटेलको घटना स्थलमानै मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाईकल पछाडी सवार लुईटेलकी छोरी सोभानी घाईते भएकी छन् । उनको चितवन मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार मोटरसाईकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । शब पोष्टमाटमका लागि भरतपुर अस्पतालमा ल्याईएको छ ।