खोटाङ, कात्तिक ८-
फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरूमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरू यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् ।
आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरू बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन् ।
कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन् ।विगत वर्षहरूभन्दा यस वर्ष बढी फूलका बिरुवा रोपिए पनि उक्त फूलहरू नफुल्दा समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी स्थानीय बासिन्दा आस्था मगरले बताइन् ।
आमा र मलाईण् गरी झन्डै एक सय ५० फूलका माला चाहिन्छ । रोपिएका फूलहरू भर्खर कोपिला लाग्दै छन्ु, उनले भनिन्, ुजसरी भएपछि माइती त पुज्नै पर्यो १ विकल्प नभएपछि चुरी ९जङ्गलमा पाइने फूलका रुपमा प्रयोग गरिने एक प्रकारको वनस्पति०को माला बनाइरहेकी छु ।ु
विगत वर्षहरूभन्दा यस वर्षको तिहार छिटो भएकाले पनि फूलको अभाव भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी भूमिका न्यौपानेले बताइन् । ुहाम्रो क्षेत्र पर्याप्त फूल पाउने क्षेत्र हो । तर यस वर्षको तिहार विगतको भन्दा अगाडि छु, उनले भनिन्, गाउँभरि कसैकामा पनि फूल फुलेका छैनन् । फूल नफुलेपछि अधिकांशले बजारमा पाइने कृत्रिम फूल खरिद गरेर माइती पुज्ने तयारी गरेका छन् ।
१० स्थानीय तह रहेको जिल्लामा लेकबेँसी कुनै पनि क्षेत्रमा यस वर्ष पर्याप्त मात्रा फूल नरहेको पाइएको छ । तिहारकै लागि भनेर व्यावसायिकरुपमा फूल खेती गर्दै आएका कृषकहरूसमेत आफूले रोपेका फूल नफुल्दा चिन्तित बनेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले फूलमा आत्मनिर्भर बनाउन विभिन्न ठाउँमा गठन भएका स्थानीय आमा समूहलाई पुष्प व्यवसाय सञ्चालन गर्नका लागि गत वर्षबाटै अनुदान दिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आमा समूहले सञ्चालन गरेका बगैँचामा समेत पर्याप्त मात्रामा फूल नफुलेको स्थानीय बासिन्दाले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले व्यावसायिकरुपमा लगाएका फूलसमेत पर्याप्त फुलेका छैनन् ।
जिल्लाका अन्य क्षेत्रमा लगाइएका फूल नफुलेपछि शुभम् फाउन्डेसनका विद्यार्थीले लगाएका बगैँचामा छिट्फुट फुल्दै गरेका फूल माग्नेको सङ्ख्या दैनिक सयजना भन्दा बढी रहेको फाउन्डेसनका निर्देशक सूर्यबहादुर राईले बताए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा औपचारिक कार्यक्रमबाहेक व्यवसाय सञ्चालनका लागि अहिलेसम्म प्राकृतिक फूल खासै आयात हुने गरेको छैन । बाहिरबाट प्राकृतिक फूल आयात गरेर बिक्री गर्न जिल्लामा आवश्यक चिस्यान केन्द्र नभएका कारण नल्याइएको व्यवसायीहरू बताउँछन् ।
जिल्लामा प्राकृतिक रुपमा रोपिएका फूल नफुलेपछि स्वास्थ्यका लागि हानिकारक मानिएको प्लास्टिकको कृत्रिम फूलको मालाले यस वर्ष खोटाङमा राम्रो मूल्य पाएको व्यापारीहरूले बताएका छन् ।
यकिन तथ्याङ्क नभए पनि यस वर्ष जिल्लामा लाखौँको कृत्रिम फूल बिक्री भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।








