माधव सापकोटा
चितवन , असोज ३ –
संविधान दिवसका दिन हिन्दु अभियन्ताहरुले संविधानको विरुद्धमा विरोध र्याली निकालेका छन् ।
चितवनका स्वतन्त्र सनातन संस्कृतिप्रेमी नागरिकहरूको आयोजनामा नारायणघाट बजारमा र्याली निकालिएको हो । लक्ष्मीवैकुण्ठनाथ मन्दिर लंकुका पीठाधीश स्वामी जगन्नाथाचार्यको सान्निध्यमा नारायणी नदी तटबाट निस्किएको र्यालीमा हिन्दुराष्ट्र कायम गर ,धर्मनिरपेक्ष संविधान मान्दैनौँ , हिन्दुराष्ट्रसहितको नयाँ संविधान जारी गर,धार्मिक आक्रमण बन्द गर लगायतका नारा लगाइएको थियो ।
र्याली पुलचोक, सहिद चोक हुँदै पुन:नारायणी नदी किनारमा पुगेर टुङ्गिएको थियो । र्यालीलाई सम्बोधन गर्दै स्वामी जगन्नाथाचार्यले नेताहरूले जनताको सुझावलाई लत्याएर विदेशीको इसारामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको भन्दै कुनै पनि हालतमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताउनुभयो ।
उहाँले सबै ॐकार परिवार जाग्नुपर्ने बेला आएको बताउँदै हिन्दुत्वको रक्षाका लागि उठ्न आह्वान गर्नुभयो। कार्यक्रममा मालिका मन्दिरका अध्यक्ष महाप्रसाद सिलवाल, धार्मिक व्यक्तित्व हीरालाल कंडेल , धार्मिक अभियन्ता ध्रुवराज मिश्र, रत्नलाल कंडेल , दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरी लगायतले बोल्नुभएको थियो।
















