चितवन, भदौ २७-
जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाड र चुनावलक्षित सुरक्षा योजना बनाएको छ ।
चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार दशैं र तिहार तथा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलक्षित गरी नयाँ सुरक्षा योजना बनाइएको हो ।
चितवनका मुख्य बजार क्षेत्र र आपराधिक हिसाबले जोखिम क्षेत्रहरुमा प्रहरीले गस्तीलाई प्राथमिकता दिने उनले बताए ।
चाडबाडको समयमा बैंक तथा वित्तीय क्षेत्र र भीडभाड हुने स्थानमा सादा पोसाकमा प्रहरी खटाउने, सुनचाँदी पसलकेन्द्रित गरेर सादा पोसाकमा हुने प्रहरीले रेकी गर्ने र कुनै स्थानमा घटना भएमा तत्काल प्रहरी परिचालनका लागि ‘क्वीक रेस्पोन्स’ टिम नै बनाउने उनले जानकारी दिए ।
चितवन प्रहरीले चाडबाडको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको समन्वयमा मुख्य र भित्री सडकमा आवश्यक मात्रामा सुरक्षा जनशक्ति खटाउने भएको छ ।
मापसे, अत्यधिक यात्रु सवारलगायतका कारणले चाडबाडको समयमा बढी दुर्घटना हुने गरेको भन्दै प्रनाउ प्रवक्ता विजय पण्डितले प्रहरीले यसतर्फ विशेष ध्यान दिने बताए ।
सार्वजनिक सवारीमा सादा तथा पोसाकमै प्रहरी राखेर सुरक्षा दिइने समेत उनले बताए ।
अन्य समयमा पनि सुरक्षा कायममा कुनै कमी नभएको तर चाडबाडमा मानिसहरुको आवतजावत र भीडभाड बढी हुने भएकाले थप सुरक्षा सतर्कता अपनाउन परेको प्रउ अधिकारीको भनाइ बताए ।








