गोरखा, भदौ २२-
गोरखाको गण्डकी गाउँपालिकाले तोमनडाँडामा मुख्य सेवा केन्द्र खोलेर सेवाप्रवाह सुरु गरेको छ ।
गाउँपालिकाले पालिकाभित्रका सबै वडाका नागरिकलाई पायक पर्ने गरी वडा नं ६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र आजदेखि सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए ।
गाउँकार्यपालिकाको बैठकले मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेर सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।
तोमनडाँडामा सेवा केन्द्र रहँदा राजमार्गबाट पनि नजिक पर्ने तथा पालिकाभित्रका सबै वडाबाट सार्वजनिक सवारी साधनमासमेत सजिलै आउजाँउ गर्न सकिने भएकाले तोमनडाँडामामै सेवा केन्द्र सुरु गरेको अध्यक्ष तिमिल्सेनाको भनाइ छ ।
गाउँपालिकाले तत्कालका लागि विद्यालयको नाममा रहेको तर उपयोगमा नरहेको खाली भवनबाट सेवा केन्द्र सुरु गरेको अध्यक्ष तिमिल्सेनाले बताए ।
मुख्य सेवा केन्द्रबाट गाउँपालिकावासीले सबै प्रकारका प्रशासनिक सेवा प्राप्त गर्ने उहाँको भनाइ छ ।
गएको शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले तोमनडाँडामा पालिकाको मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेको थियो ।