काठमाडौं, भदौ ९-
नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ ।
नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् ।
हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले जानकारी दिए ।
उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागि नसकेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
नख्खु कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ । भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ ।
नेपाल प्रहरीको टोलीले बुधबार कारागारका कैदी रामेछापका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो ।
त्यसक्रममा दुईजना प्रहरी उनको साथमै रहेका बेला बुढाथोकी फरार भएका थिए । प्रहरीका अनुसार उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको छ ।