चितवन, भदौ २-
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७८ र ०७९ मा गरेका उपलब्धीबारे समिक्षा गरेको छ ।
महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासन लगायतका विषयमा समिक्षा गरेको हो ।
महानगरपालिकाको सभाहलमा भएको समिक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नती गरेको देखिएको छ ।
५ वर्षअघि १ किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्र निर्माण भएको तथ्याङकमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमी सडक कालोपत्रे निर्माण गरेको थियो ।
सडक पूर्वाधारपछि महानगरले शिक्षा पूर्वाधार निर्माणमा रकम खर्च भएको पाइएको छ । महानगरभित्र रहेका विद्यालयको पूर्वाधार निर्माण गरी प्राविधिक शिक्षालाई जोड दिएको वडाहरुको तथ्याङ्कले देखाएको छ ।
महानगरमा रहेका विद्यालयहरुमा पछिल्लो समय आर्कषण वृद्धि भइ विद्यार्थीको संख्यामा क्रमश बढेको छ । महानगरमा विगतमा ५ वर्षको अवधिमा सामुदायिक विद्यालयको विद्यार्थीको संख्या ७ हजारले वृद्धि भएको छ । विद्यालयहरुको गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको थियो ।महानगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न सिँचाईको सुविधा, निकुञ्जसँग जोडिएको वडामा मेषजाली निर्माणमा रकम विनियोजन गरी काम गरेको देखिएको छ ।
गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ ।
योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो ।
सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।
वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवा प्रवाहमा सुस्त भएकोमा असन्तुष्टी व्यक्त गर्नुभयो । मेयर दाहालले महानगर मातहतका कर्मचारीलाई कार्यतालिका बनाएर परिणाम देखिने गरी काम गर्न निर्देशन दिइन् ।
मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरीयता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धीत कर्मचारीलाई निर्देशन दिइन् ।
समयमै काम नगर्ने, गुणस्तरहिन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारबाही समेत गर्न निर्देशन दिएकी थिइन् ।
वार्षिक समिक्षा गोष्ठीमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए ।