काठमाडौं, साउन ३०-
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।
उनले त्यो चुनावलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे ।
कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा आज सोमवारदेखि सुरु भएको कार्यक्रममा बोल्दै उनले आउँदो चुनावमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
सत्तारूढ गठबन्धन मिलेर चुनावमा गएकाले पालिका चुनावमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि सत्तारूढ गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरिरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री देउवाले कोभिड सङ्कट समाधान गराउन, संवैधानिक मूल्य–मान्यताअनुसार देशलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण सफलता हासिल गरेको दाबीसमेत गरेका छन् ।