फिनल्याण्ड, साउन २८-
जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।
पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउनका लागि हुँदै आएको सहकार्यलाई विस्तार गर्दै लैजाने दुवै संस्थाका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।
फिनल्याण्डको राजधानी हेल्सिन्सीमा भएको एक कार्यक्रममा डिएचएमका महानिर्देशक कमलराम जोशी र एफएमआईका महानिर्देशक जुस्सी काउरोला मौसम पूर्वानुमानमा काम गर्दै आएको डिएचएमको क्षमता अभिवृद्धि गर्दैै मौसम पूर्वानुमान र हवाई उडड्यानका क्षेत्रमा एफएमआईले गर्दै आएको सहयोगलाई विस्तार गर्न सहमत भएका छन् ।
सन् २०१० देखि दुवै नियकाले यस क्षेत्रमा आवश्यक सहकार्य गर्दै आएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा भएको कार्यक्रममा महानिर्देशक जोशीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा जल तथा मौसमजन्य विपद्का कारण हुने प्राकृतिक जोखिमको खतरा बढ्दै गएको बताए ।
महानिर्देशक जोशीले मौसमजन्य जोखिमको सामना गर्न सक्षम मुलुक फिनल्याण्ड सरकारले नेपाललाई गर्दै आएको सहयोग क्षेत्रीयस्तरमा विस्तार गरी नेपालको प्राविधिक क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र अनुसन्धानलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए ।
जवाफमा एफएमआईका महानिर्देशक काउरोलाले दुबै नीकायबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र एक–अर्काका अनुभवलाई आदान–प्रदान गरेर मौसमजन्य जोखिम न्यूनीकरण गर्न सहकार्य गर्ने विश्वास दिलाए ।
उनले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एफएमआईले मौसम पूर्वानुमानको क्षेत्रमा गर्दै आएको गतिविधि एवं मौसमजन्य असरका विषयमा नेपाल र भियतनामबाट आएको उच्चस्तरीय अध्ययन टोलीलाई विस्तृत जानकारी गराएको थियो ।
मौसमजन्य सूचना प्रणाली, वित्तीय व्यवस्थापन एवं सम्बन्धित संस्थाहरूसँगको सहकार्यका विषयमा एफएमआईका उच्च अधिकारी तथा वैज्ञानिकबीच अनुभव आदान–प्रदान गरिएको थियो ।








