मुग्लिन, साउन १६-
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ ।
आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो ।
आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
बिहान ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड अहिले बिहान १० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
बिहान पनि वर्षा भइरहेको र ढुङ्गा खसेका कारण दुईतर्फी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार