दमौली, साउन ६-
तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा रहेको हो ।
उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षात्का समयमा जिल्लामा पर्नसक्ने बाढीपहिरोलगायत जोखिम न्यूनीकरण तथा पूर्वतयारीकालागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।
योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
जिल्लाका स्थानीय सरकारलाई स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
विपद् आउनुपूर्व नै आवश्यक स्रोतसाधनको व्यवस्थासहित तयारी हालतमा बस्न र विपद्का समयमा खोज तथा उद्धार गरी आपत्कालीन राहत सहयोग एवं सुरक्षा प्रदान गर्न प्रतिकार्य योजना दस्तावेजका रुपमा रहेको प्रजिअ अर्यालले बताउनुभयो ।
व्यास नगरपालिकाको वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ का ६२ टोल बस्ती पहिराको जोखिममा छन् । यस्तै वडा नं १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती बाढीको जोखिममा छ ।
भानु नगरपालिका–४, ५, ६ र ७ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १, २, ५, ६, ७, ११, १२ र १३ बाढीको जोखिममा छन् ।
भिमाद नगरपालिका– ३, ५, ७, ८ र ९ का बस्ती पहिराका जोखिममा छन् भने वडा नं १ र २ बाढीको जोखिममा रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । -रासस