चितवन, साउन ३-
नयाँ आर्थिक बर्ष सुरु भएसँगै चितवनमा जग्गाको मुल्य निर्धारण गरिएको छ । मालपोत कार्यालय भरतपुरले आर्थिक वर्ष २०७९ र ८० का लागि जग्गाको नयाँ मूल्य निर्धारण गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको मूल्याङ्कन समितिको बैठकले रजिष्ट्रेसन पारित गर्नका लागि जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको मालपोत कार्यालय भरतपुरले जनाएको छ ।
निर्धारण गरिएको मुल्यअनुसार सबै भन्दाबढी नारायणगढको लायन्सचोकदेखि नारायणी पुलसम्मका महेन्द्र राजमार्गसँग जोडिएका भरतपुर महानगरपालिका–१ को घडेरी जग्गाको मूल्य निर्धारण गरिएको छ ।
सो ठाउँको जग्गाको मूल्य प्रतिकट्ठा तीन करोड आठ लाख रूपैयाँ निर्धारण गरिएको मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारीले बताउनुभयो ।
शहीदचोकदेखि बालकुमारी मावि जाने चोकसम्मका घडेरी जग्गाको मूल्य प्रतिकट्ठा दुई करोड ४० लाख, महेन्द्र राजमार्गमा पर्ने नहरदेखि पुंगीखोलासम्म एक करोड २० लाख, नारायणगढ–मुग्लिन राजमार्गमा पर्ने पोखरा बसपार्कबाट वडा नम्वर ३ सिमानासम्म एक करोड ७० लाख रूपैयाँ तोकिएको मालपोत कार्यालयले जनाएको छ ।