चितवन, साउन २-
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले पत्रकार कुटपिटको घटनामा संलग्न कर्मचारीहरुलाई रिहा नगरे ब्ल्याक आउट गर्ने धम्की दिएका छन् ।
आज (सोमबार) आफूलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका प्रतिनिधिहरुसंग प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्युत कार्यालयका कर्मचारीहरुबाट ब्ल्याक आउट गर्ने धम्की आएको बताउनुभयो ।
–‘विद्युत् प्राधिकरणका कर्मचारीहरूले आफूलाई फोन गरेर पक्राउ परेका कर्मचारीलाई रिहा नगरे विद्युत् लाइन काटिदिने धम्कीसमेत दिएका छन् ।’प्रजिअ तामाङले भन्नुभयो ।
उहाँले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलेसमेत फोन गरेर ‘कर्मचारीहरूलाई थुन्दा समस्या पर्न सक्छ है’ भनेको बताउनुभयो । असार ३१ गते प्राधिकरण पुगेका पत्रकार कृष्ण आचार्यले कार्यालयभित्रै मदिरासहितको भोज गरिरहेको तस्वीर खिचेपछि कर्मचारीहरूले उहाँलाई लछारपछार गर्दै लखेटेका थिए। उनीहरूले आचार्यका दुईवटा मोबाइल सेट पनि नियन्त्रणमा लिएका थिए।
सोही घटनामा आचार्यले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंहसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराउनुभएको छ ।
पक्राउ पूर्जी जारी भएपछि प्रमुख सिंह फरार भएका छन् । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् ।