काठमाडौं, साउन २-
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताउनुभएको छ ।
काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गर्नुभयो ।
आर्थिक वर्ष २०७९र०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करको दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुने उहाँको भनाइ छ ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९ र ०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।
संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो । यस्तै, एमाले नेता ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाउनु भएको छ ।
उहाँले कालो धनलाई सेतो बनाउनकै लागि अहिले गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाउने काम भइरहेको दाबी गर्नुभएको हो ।