चितवन, साउन १-
पवित्र धार्मिकस्थल देवघाटमा आजदेखि साउने मेला सुरु भएको छ । आज पहिलो दिन बिहानैबाट देवघाटमा स्नान गर्न आउनेको भिड लागेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताउनुभयो ।
भोलि साउन महिनाको पहिलो सोमबारदेखि भने बोलबम मेला लाग्ने उहाँले जानकारी दिनुभयो ।
कोभिडका कारण बिगतका दुई वर्ष नलागेको मेला यस वर्ष लाग्ने भएकाले पाँच लाख भक्तजन मेलाले भर्ने क्षेत्र विकास समितिको अनुमान छ ।
मेलामा आउने भक्तजनहरुलाई लक्षित गरी चितवन र तनहुँ दुबैतर्फ उज्यालो बत्तिको व्यवस्था गरिएको छ भने नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै डुङ्गा, उद्धार टोली, तीन वटा इमेर्जेन्सी बोर्ड, तार जाली, स्नान गर्ने ठाँउमा डोरी राखी व्यवस्थापन गरिएको छ ।
त्यस्तै, भिडभाडलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र ट्राफिक कार्यालयसँगको समन्व्यमा चितवन नवलपरासी र तनहुँको सिमानामा सुरक्षाकर्मीहरु परिचालन गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
देवघाटमा चितवन नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ, गोर्खा, धादिङ्ग लगायत भारतबाट समेत भक्तजन आउने गर्दछन् । यस वर्ष साउनमा पाँच वटा सोमबार पनि परेको छ ।








