चितवन, साउन १ –
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार आयोजित सो पुस्तकको विमोचन गर्नुभयो । विसं २०५१ देखि २०५६ सम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. कोइरालाले डा पौडेललाई पढाउनुभएको हो ।
पछिल्ला दिन राजनीतिमा सक्रिय रहनुभएका डा कोइरालाले चिकित्सा विषयमा ‘एमडी’ अध्ययन गर्नुभएको छ । पुस्तक विमोचन गर्दै कांग्रेसका नेता डा कोइरालाले डा पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राख्नुभयो । लेखक डा. पौडेलका अनुसार ‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखिएको पुस्तक हो । यसमा दुई खण्ड छन् । पहिलोमा उहाँले बिरामीसँग जोडिएका संस्मरण समेट्नुभएको छ ।
बिरामीको मनोविज्ञान र आफ्नो अनुभूतिको समिश्रण समेटिएको यो खण्ड रोचक पाइन्छ । बिरामीका समस्या, अप्ठ्यारा परिस्थिति तथा बाध्यतालाई उहाँले रोचक कहानीको स्वरुप दिनुभएको छ ।
पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरूका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्याजस्ता विषय समेटिएको छ । निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरूसमेत रहेको डा पौडेलले बताउनुभयो ।
दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरू रहेको छ । पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरू अटाएको छ ।
उहाँले बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायका साथै अनुभव र मनोभावना राख्नुभएको पुस्तकको समीक्षा गर्नुभएका एकनारायण पौडेलले जानकारी दिनुभयो । साङ्ग्रिला बुकले सो पुस्तक सार्वजानिक गरेको हो ।
‘खुसीहरूको वनवास’ कविता सङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाउनुभएका डा. पौडेलको दुई वर्षअघि ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तक बजारमा आएको थियो । -रासस