चितवन, चैत २८ –
सप्तगण्डकी बहुमुखी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक–औद्योगिक सहकार्यको लागि सम्झौता भएको छ ।
आज सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल र उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीबीच सो समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा क्याम्पस र उद्योग वाणिज्य संघबीच उद्यमशिलता प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ । सम्झौतापत्रमा उद्योग वाणिज्य संघले सप्तगण्डकी क्याम्पसमा विद्यार्थीहरुलाई विज्ञ मार्गदर्शन र परामर्श, औद्योगिक सम्पर्क, पूर्वाधार र तथ्यांकमा पहुँच दिएर सहयोग पु¥याउने छ भने क्याम्पसले उद्योग व्यवसाय क्षेत्रको माग अनुसार उद्योगलाई आवश्यक पर्ने विषयहरुमा पाठ्यक्रम निर्माण गर्ने, अध्ययन र अनुसन्धानमा सहयोग पु¥याउने छ । त्यसैगरी सम्झौता अनुसार चितवनमा नियमित उद्योग शिक्षा संवाद हुनुका साथै संयुक्तरुपमा पाठ्यक्रमहरुमाथि समीक्षा गरेर बजारको माग अनुसार जनशक्ति उत्पादन गर्नमा क्याम्पस अग्रसर हुनेछ ।
सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा. कपिलदेव सुवेदीले सम्झौंतापछि उद्यमशिलता विकासको लागि संघले तालिम र उत्प्रेरण प्रदान गरेर विद्यार्थीलाई उद्योगी बन्न सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ उद्योग कसरी सञ्चालन हुन्छ भन्ने तालिम र उत्प्रेरणा विद्यार्थीहरुले प्राप्त गर्छन् । संघले उद्यमशिलता सम्वद्र्धन केन्द्र सञ्चालन गरेको छ जहाँबाट विद्यार्थीहरुले तालिम प्राप्त गर्नुका साथै विद्यार्थीहरुले संघको विभिन्न कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । यसप्रकारको सम्झौताले चितवनमा पढाइ र रोजगारीको बीचमा देखिएको दूरी कम गर्न सहयोग पुग्ने क्याम्पस र संघको अपेक्षा छ ।










