काठमाडौँ चैत २२
कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बिच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् गरिरहेका उनीहरु सो तालको बिच भागमा फसेका थिए ।
उनीहरु तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ.म.को कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षिय सागर भुजेल, २० वर्षिय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षिया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बाग्लुङ बस्ने २१ वर्षिया सन्जिता पुन, २० वर्षिया सुमिना तामाङ, २२ वर्षिया सुष्मा पुन, २० वर्षिया संजिता मगर, १९ वर्षिया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षिय आयान, २८ वर्षिय अश्लाम र २६ वर्षिय स्याडब रहेका छन् ।








