वासिङ्टन डिसी, २२ चैत –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पहाडी क्षेत्रमा हराइरहेका आफ्ना सैनिक टोलीका सदस्यलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको जानकारी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसलमार्फत ’हामीले उनलाई फेला पार्यौँ’ भन्दै अमेरिकी सैन्य इतिहासकै एक निकै साहसी र चुनौतीपूर्ण खोज तथा उद्धार अभियान सफल भएको दाबी गरेका हुन्।
इरानको कडा निगरानी र घेराबन्दीका बिच अमेरिकी सेनाले आफ्ना कर्णेल दर्जाका अधिकारीलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो। केही समयअघि दक्षिणी इरानमा खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानमा सवार ती अधिकारी इरानको नियन्त्रणमा पर्न सक्ने जोखिम बढेको थियो।
इरानी फौजले उनलाई फेला पार्न आफ्ना नागरिकलाई ठुलो नगद पुरस्कारको समेत घोषणा गरेको पृष्ठभूमिमा अमेरिकी सेनाले २४सै घण्टा लोकेसन ट्र्याक गरेर यो अपरेसन चलाएको थियो। विमानमा सवार पाइलटलाई यसअघि नै उद्धार गरिसकिएको भए पनि हतियार प्रणाली अधिकारीका रूपमा कार्यरत ती सैनिक इरानको दुर्गम पहाडी भेगमा लुकेर बस्न बाध्य थिए।
‘उनलाई चोट लागेको छ, तर उनी ठीक हुनेछन्,’ ट्रम्पले उद्धार गरिएका चालक दल सदस्यको बारेमा आफ्नो ट्रुथ सोशल पोस्टमा लेखेका छन्।
‘चमत्कारी मिसन ! हिजो अर्को बहादुर पाइलटको उद्धार पछि आयो,’ जसलाई ट्रम्पले भने, ‘हामीले पुष्टि गरेनौं, किनकि हामी हाम्रो दोस्रो उद्धार कार्यलाई खतरामा पार्न चाहँदैनौँ। हामी कहिल्यै एक अमेरिकी लडाकुलाई पछाडि छोड्नेछैनौँ ।’
ट्रम्पले यो अपरेशनमा एक जना पनि अमेरिकी मारिएको वा घाइते नभएको जिकिर गरेका छन् । यो उद्धार अभियानका क्रममा अमेरिकी र इरानी सेनाबिच प्रत्यक्ष भिडन्त समेत भएको ह्वाइट हाउस स्रोतले जनाएको छ।
दुवै देशले एकअर्कालाई ‘नर्कको स्वाद चखाउने’ चेतावनी दिइरहेका बेला भएको यो घटनाले पश्चिम एसियाको तनावलाई थप उत्कर्षमा पुर्याएको छ। राष्ट्रपति ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्ने सम्झौताका लागि ४८ घण्टाको अन्तिम समयसीमा दिएकै बेला यो नाटकीय सैन्य सफलता हात पारेका हुन्।








