चैत्र २०,भरतपुर ।
मालपोत कार्यालय भरतपुरमा कार्यरत लेखापढी व्यवसायीसँग सम्बन्धित घटनाप्रति नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन, जिल्ला समन्वय समिति चितवनले गम्भीर आपत्ति जनाएको छ।
एशोसिएसनका अनुसार, अदालतबाट प्रमाणपत्र प्राप्त गरी सम्बन्धित निकायबाट अनुमति लिएर सेवा प्रदान गर्दै आएका लेखापढी व्यवसायीहरूलाई जिल्ला प्रहरी कार्यालय भरतपुरबाट सादा पोशाकमा आएका प्रहरी टोलीले पक्राउ गरी निरुत्साहित गर्ने कार्य गरेको आरोप लगाइएको छ। उक्त घटनामा जिल्ला समन्वय समितिका अध्यक्षसहित १६ जना सदस्यहरूलाई पक्राउ गरिएको जनाइएको छ।
यस घटनाले लेखापढी व्यवसायीहरूमा त्रास सिर्जना गरेको भन्दै एशोसिएसनले तत्काल बिना शर्त रिहाइको माग गरेको छ। अन्यथा राज्य आतङ्क मच्चाउने कार्य भएको ठहर गर्दै कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिइएको छ।
एशोसिएसनले अदालतबाट कानुन बमोजिम अनुमति प्राप्त गरी पेशा सञ्चालन गरिरहेका व्यवसायीहरूको अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गरेको छ। साथै, पक्राउ परेकाहरूलाई अविलम्ब रिहा नगरिए चितवन जिल्लाभित्रका सम्पूर्ण भू–सेवा केन्द्रहरू बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ।
सेवा केन्द्र बन्द हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचनासमेत गरिएको छ।








