काठमाडौँ चैत १७
नेपाल सरकारद्वारा आकांक्षा पोख्रेललाई मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा नियुक्त गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री रावलको सचिवालयमा रिक्त रहेको उक्त पदमा उनलाई शाखा अधिकृत (अधिकृत स्तर) सरह सुविधा पाउने गरी नियुक्त गरिएको हो।
मन्त्रालयद्वारा जारी पत्रअनुसार उनलाई २०८२ साल चैत १४ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको उल्लेख छ। नियुक्तिसँगै उनले सचिवालयमा रही आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
चितवनको भरतपुर–१० की स्थायी बासिन्दा पोख्रेल पत्रकारिता क्षेत्रमा स्नातक अध्ययनरत रहँदै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। उनले करिब दुई वर्ष पत्रकारका रूपमा काम गरेको अनुभव समेत हासिल गरेकी छन्।
सात वर्षदेखि विभिन्न सामाजिक सेवामूलक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएकी पोख्रेल पछिल्लो तीन वर्षदेखि राजनीतिक क्षेत्रमा समेत क्रियाशील रहँदै आएकी हुन्। उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी, भरतपुर महानगरको कोषाध्यक्षको जिम्मेवारीमा समेत छन्।
यसअघि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलमा पर्दा भएको आन्दोलनमा समेत पोख्रेल सडकमै उत्रिएर सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
मन्त्री रावलले पोख्रेलले आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। साथै, उक्त नियुक्ति सम्बन्धी जानकारी मन्त्रालयअन्तर्गतका आर्थिक प्रशासन शाखा तथा आन्तरिक व्यवस्थापन शाखालाई समेत बोधार्थ पठाइएको छ।








