– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत्र १२ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट किट विज्ञानमा स्नाकोत्तर गरेकी २७ वर्षीय निशा सुवेदी यतिखेर वैकल्पिक किरा व्यवस्थापन जनचेतना कार्यक्रममा व्यस्त छिन् ।
आफूले अध्ययन र अनुसन्धानबाट प्राप्त गरेको ज्ञानलाई किसानहरु समक्ष पुर्र्याउनका लागि उनले वैकल्पिक किरा व्यवस्थापन जनचेतना अभियान कार्यक्रम सञ्चालन गरिरहेकी हुन् ।
उनले कृषकका खेतबारी र कृषि अध्ययन गरिरहेका विद्यार्थीका कक्षाकोठामा पुगेर अभियान चलाइरहेकी छन् ।
आफूले स्नातकोत्तर तहमा दुई वर्षसम्म गरेको अनुसन्धानबाट पत्ता लागेका कुरालाई सुवेदीले किसानहरुमाझ पुर्याइरहेकी छन् । उनले हानिकारक रासायनिक विषादीको सुरक्षित विकल्पका रुपमा जैविक ढुसीको प्रयोग गरी फौजी किरा व्यवस्थापनमा त्यसको प्रभावकारिताको अनुसन्धान गरेकी थिइन् ।
कृषिमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याइरहेको बताउँदै सुवेदीले यसबारे व्यापक चेतना जगाउन आवश्यक रहेको बताइन् ।
बालानालीमा चार/पाँच वटा किरा देख्ने बित्तिकै आत्तिएर कडा रासायनिक विष प्रयोग गर्ने प्रवृत्ति देखिएको उनले बताइन् । त्यसैगरी किरा नलागे पनि किरा लाग्नबाट रोक्न भन्दै पहिले नै विषादी प्रयोग गर्ने गरिएको पाइएको छ । अनि कुन किराका लागि कुन औषधि उपयुक्त हुन्छ भन्ने प्राविधिक ज्ञान बिना नै जथाभावी विषादी प्रयोग गर्ने गरेको पाइएको छ । यसरी जथाभावीरुपमा विषादी छर्दा यसले विभिन्न संकट पैदा गर्ने उनले बताइन् । जथाभावी विषादी छर्दा किराहरुमा विस्तारै विषादी प्रतिरोध क्षमता विकास हुन्छ । अर्थात् किरामा विषादीलाई पचाउन सक्ने क्षमता विकास हुन थाल्छ । यसले ती शत्रु किराहरुको संख्यामा झन् वृद्धि हुने उनले बताइन् । त्यसैगरी जथाभावी विषादी प्रयोग गर्दा कृषिका लागि मित्र किराहरु पनि नष्ट हुने गर्दछन् ।

त्यसैगरी विषादीमा हुने रसायनहरु खाद्यान्नमार्फत मानव शरीरमा प्रवेश गर्दा गम्भीर स्वास्थ्य समस्याहरु निम्तिने गरेको छ । त्यस्तै विषादीका रसायनहरु माटो र जलस्रोतमा वषौंसम्म रहने गर्छन् । जसले गर्दा वातावरणीय सन्तुलन बिग्रने गरेको छ ।
तसर्थ रासायनिक विषादी बिना कसरी वैकल्पिकरुपमा किराको व्यवस्थापन गर्न सकिन्छ भनेर सुवेदीले अनुसन्धान गरेकी हुन् । अनुसन्धानमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुले सुवेदीलाई साथ दिएका थिए । साथै विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाको समेत सहयोग रहेको थियो ।
कृषि तथा बन बिज्ञान विश्वविद्यालयमा फौजीकिरा व्यवस्थापनमा ढुसी (मेटाराइजियम रिलीयाइ) र परजीबी किराहरु (टेलेनोमस रेमस, ट्राइकोग्रामा चिलोनिस) को प्रभावकारिता बारे शोधकार्य गरिएको थियो । परजीबी किराहरु (टेलेनोमस रेमस, ट्राइकोग्रामा चिलोनिस) फौजीकिरा को अण्डा व्यवस्थापनमा निकै प्रभावकारी देखिएको थियो भने ढुसी (मेटाराइजियम रिलीयाइ) फौजी किराको लार्भा व्यवस्थापनमा प्रभावकारी देखिएको थियो ।

यही अनुसन्धानका क्रममा सुबेदीले (मेटाराइजियम रिलीयाइ) नामक ढुसी फौजीकिरा नियन्त्रणमा प्रभावकारी छ भनेर नेपालकै सन्दर्भमा पहिलो पटक सन् २०२४ मा वैज्ञानिक प्रमाणित गरेकी थिइन् । उनको यो महत्वपूर्ण अनुसन्धान ‘इन्डियन जर्नल अफ एन्टोमोलोजी’ मा समेत प्रकाशित भएको छ ।
आफ्नो शोधकार्य सफलतापूर्वक सम्पन्न गरेपछि सुवेदी अर्को चरणको परियोजनामा आवद्ध भएकी थिइन् । विभिन्न संघसंस्था र कृषि विश्वविद्यालयको सहकार्यमा सञ्चालित यस परियोजनाको मुख्य उद्देश्य प्रयोगशालामा परजीबी किराहरु (टेलेनोमस रेमस, ट्राइकोग्रामा चिलोनिस) र ढुसी (मेटाराइजियम रिलीयाइ) धेरै मात्रामा उत्पादन गर्ने र किसानको मकै बारीमा प्रयोग गरी फौजी किरा व्यवस्थापनमा प्रभावकारिता परीक्षण गर्नु थियो । यतिबेला सुवेदीले ढुसीमा काम गरेकी थिइन् ।

यी अनुसन्धानबाट प्राप्त ज्ञानलाई सुवेदीले किसान र विद्यार्थीहरुमाझ पुर्र्याउन वैकल्पिक किरा व्यवस्थापन जनचेतना अभियान चलाएकी हुन् । दुई वर्षदेखि उनले यो काम गरिरहेकी छन् । उनले यही पुषमा उदय नेपाल नामक संस्था खोलेकी छन् । अहिले त्यसै संस्थामार्फत कार्यक्रमकै रुपमा अभियान चलाइरहेको उनले बताइन् ।
२०/२५ जना कृषक जम्मा गरेर फौजी किरालाई कसरी चिन्ने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे ज्ञान दिने गरेको उनले बताइन् । ‘ढुसीमात्र नभई विषादीको अन्य विकल्पका बारेमा बुझाउने गरेको छु’ उनले भनिन् ।
उनी भन्छिन्, ‘व्यावसायिक रुपमा कृषि गरिरहेका हुन्छन् । रासायनिक विषादीको विकल्पको भरमै त किसानहरु बस्न सकिरहेका हुँदैनन् । तर रासायनिक विषादीलाई कसरी सुरक्षित रुपमा प्रयोग गर्ने र क्रमिक रुपमा कसरी विषादीको प्रयोगलाई घटाउँदै लैजाने भन्नेबारे जनचेतना जगाएको छु ।’
खेती गरेको सुरुबाटै विकल्पका रुपमा ध्यान दिएर काम गर्नुपर्ने उनले बताइन् । किराले धेरै नै आक्रमण गर्न थालिसकेपछि विकल्प खोजेर त्यति प्रभावकारी नहुने उनले बताइन् । स्रोत साधनको अभावका कारण आफैले खेती गरेर नियमितरुपमा परीक्षण गर्न भने नपाइएको उनको भनाइ छ ।









