रत्ननगर,चैत १२-
चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि फुड फेस्टिबलको २०औं संस्करण सुरु हुँदैछ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाले चैते दसैंको अबसरमा फेस्टिबल आयोजना गरेको हो । सौराहा सहित चितवनको पर्यटन प्रर्वद्धनका लागि फेस्टिबल आयोजना गरिएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले बताए । फेस्टिबल सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा निकालिदै छ । तीन दिनमा १५ हजार पर्यटक भित्र्याउने गरी तयारी गरिएको संयोजक खतिवडाले बताए । सौराहाको गैंडाचोक देखि पूर्व तर्फ छत्री स्टेट सम्म फेस्टिबलका स्टलहरु रहेका छन् । निर्वाचनको आचारसंहिताका कारण रोकिएको फुड फेस्टिबल स्वरुप परिर्वतन गरी चैते दसैको अबसरमा आयोजना गरिएको हो ।
चैत दसैंमा गुम्न मन पराउने पर्यटकलाई लक्षित गरी फेस्टिब आयोजना गरिएको भन्दै कार्यक्रम संयोजक खतिवडाले सौराहाको मुख्य मुख्य बजारहरुलाई सिंगारिएको बताए । प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारालाई आत्मसाथ गर्दै खाना, संगित र संस्कृतिलाई अबधारण अनुसार फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष शम्भूप्रसाद मालीले बताए । फेस्टिवलमा सञ्चालन हुने पर्यटन प्रवद्र्धनात्मक गतिविधिले सौराहाको पर्यटनलाई दीर्घकालीन प्रभाव पर्ने भन्दै अध्यक्ष मालीले सौराहाको पर्यटनलाई विगतकै अवस्थामा फर्काउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
सौराहा आएका पर्यटकलाई गीत संगितमा रमाउदै सडकमै खानाका परिकार उपलब्ध गराउने योजना रहेको छ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासंस्कृति भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्य रहेको रेवानका महासचिव नविन नेपालले बताए । फेस्टिबल अन्तर्गत बहुल जातजातीहरुको झाँकी प्रस्तुती, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर वेटरेस बीच प्रतियोगिता समाबेश गरिएको छ ।
फेस्टिबल सम्पन्न गर्न ६० लाख खर्च लाग्ने र एक करोडको कारोबार हुने अनुमान गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको फेस्टिबलको सह–आयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि। रहेका छन् । स्वदेशी तथा विदेशी पर्यटक सडकमै रमाउने गरी तयारी गरिएको उनको भनाई छ । ५० बर्ष लामो इतिहास बोकेको सौराहा विदेशी पर्यटकको उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ । सफारी पर्यटनले ख्यातिप्राप्त सौराहामा १४० वटा होटल र ९५ वटा रेष्टुरेन्ट रहेका छन् । चितवनका बार्षिक ३ लाख ५० हजार पर्यटक आउने गरेका छन् । चितवन भित्र्एिका ८० प्रतिशत पर्यटक सौराहा आउने गरेका छन् । सौराहाबाट ७५ प्रतिशत पर्यटक निकुञ्ज अबलोकन गर्ने गरेका छन् ।








