चितवन ,असार ९-
भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–१८ गुञ्जनगरमा माध्यमिक विद्यालयको प्राङगणमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
प्रतियोगिता उद्घाटन गर्दै महानगरपालिका प्रमुख दाहालले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादनको माध्यम भएको बताउनुभयो ।
रनिङ शिल्डले भरतपुरमा दक्ष खेलाडी उत्पादन गर्ने वातावरण पनि सिर्जना भइरहेको गरेको प्रमुख दाहालको भनाई थियो ।भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्य सहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको समेत मेयर दाहालले जानकारी दिनुभयो । एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगर स्तरीय खेल मैदान, प्रदेश स्तरीय खेल मैदान तथा अन्तर्राष्ट्रिय खेल मैदान निर्माण भइरहेको पनि मेयर दाहालले बताउनुभयो ।
कोभिड–१९ कोरोना भाईरसका कारण विद्यालय बन्द हुँदा ३ वर्षदेखि भरतपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोकिएको थियो ।
प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स गरी ३ विधाका खेल हुने भरतपुर शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले बताउनुभयो । प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ५० वटा विद्यालयको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । गर्मीको समयका कारण प्रतियोगिता विहानको समयमा गरिने पनि उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।