चितवन,चैत २-
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका-७ नमुना टोल बस्ने वर्ष १८ वर्षीय एनी तामाङ (फेसबुक नाम) र सोही ठाउँका २५ वर्षीय विजय सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका(३ बस्ने ४९ वर्षीय पुरुषलाई उनीहरूले हनि ट्र्यापमा पार्ने कोसिस गरेका थिए । प्रहरीका अनुसार ती पुरुषको एनीसँग सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । एनीले २५ उमेर बताएकी थिइन् । फेसबुकको चिनजानपछि फोनमा समेत कुराकानी हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनै एनीले ती पुरुषलाई जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री बाटोमा भेट्न बोलाएपछि उनी गएका थिए । उक्त स्थानमा भेट्न जाँदा योजनाबद्ध तवरले अन्य मानिसलाई बोलाई पीडितलाई कुटपिट गरि उनको साथमा रहेको स्कुटर लुटपाट गरी फरार भएका थिए ।
ती पुरुषले आफ्नो स्कुटर फिर्ता माग्दा रकम माग गर्ने, रकम नदिए जबर्जस्ती करणी कसुरमा मुद्दा हाली फसाइदिने भनी धाकधम्की दिइरहेको जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । त्यसक्रममा एनी र विजयलाई आइतबार भरतपुर महानगरपालिका-१० वीरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।








