चैत १, काठमाडौं ।
लेबनानमा संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसन (युनिफिल) मा खटिएका नेपाली शान्ति सैनिकमाथि शुक्रबार राति भएको आक्रमणको युएनले छानबिन गर्ने भएको छ ।
“घटना कसरी भयो र कसले आक्रमण गरेको हो भन्ने पत्ता लगाउन राष्ट्रसंघले अनुसन्धान गर्ने भएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाह्रखरीसँग भने ।
शुक्रबार (फागुन २९) राति इजरायलसँगको सीमानजिक रहेको लेबनानी भूमि मेइस अल जाबलस्थित नेपाली शान्ति सेनाको मुख्यालय रहेको स्थानमा बमबारी भएको थियो । बमबारी कसले र किन गरेको हो भन्नेबारे अहिलेसम्म जिम्मेवारी कसैले लिएको छैन ।
शान्ति सैनिकमाथि यस्तो बेला आक्रमण गरिएको छ, जतिबेला राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लेबनान भ्रमणमा छन् । इजरायलले लेबनानमाथि आक्रमण गरेपछि गुटेरेस लेबनानप्रति आफ्नो समर्थन
जनाउन त्यहाँ पुगेका थिए । उनी आइतबारसम्म लेबनानमा रहने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
“बमबारीका कारण नेपाली शान्ति सैनिकको एउटा निवासमा क्षति पुगेको छ । केही व्यक्तिगत वस्तुमा क्षति पुगेको छ । तर, सबै सैनिक सुरक्षित छन्, सबै बंकरमा छन्,” सैनिक प्रवक्ता बस्नेतले भने ।
युनिफिल लेबनानमा ५५४ जना सैनिक शान्ति कार्यमा खटिएका छन् ।
अमेरिका–इजरायल–इरानबीच युद्ध चर्किएपछि लेबनानमा रहेको सशस्त्र समूह हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेको थियो । त्यसपछि इजरायलले लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ । लेबनान र इजरायल सीमामा हिजबुल्लाह र इजरायली सैनिकबीच भिडन्त चलिरहेको छ । यसैबेला लेबनान र इजरायल सीमामा रहेको नेपाली शान्ति सैनिक माथि आक्रमण भएको हो ।








