काठमाडौं पुस २७-
नेपालीभाषी भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन् । ४३ वर्षको उमेरमा गायक तामाङको आइतबार भारतको नयाँ दिल्लीमा निधन भएको छ । गायन रियालिटी शो इन्डियन आइडलको तेस्रो सिजनको विजेता बनेसँगै उनी भारतका साथै नेपालमा समेत चर्चामा आएका थिए ।
हिन्दी र नेपाली गरेर थुप्रै गीतमा स्वर दिएका तामाङले केही नेपाली फिल्ममा समेत शीर्ष भूमिकामा अभिनय गरेका छन् । ‘गोरखा पल्टन’, ‘निशानी’, ‘किन मायामा’, ‘अँगालो यो मायाको’,‘परदेशी’, ‘धड्कन भित्र’, ‘परदेशी २’ मा उनले अभिनय गरेका छन् । उनको पछिल्लो नेपाली फिल्म ‘लडाइँ पहिचानको’ हो । यो फिल्म गत मंसिर ५ गते प्रदर्शनमा आएको थियो ।
चर्चित वेब–सिरिज ‘पाताल लोक’मा समेत काम गरेका उनी पछिल्लो समय सलमान खानको फिल्म ’ब्याटल अफ गलवान’मा व्यस्त थिए । तर छायांकन सकेर डबिङ गर्न नपाउँदै तामाङको निधन भयो । उनको हृदयघातका कारण निधन भएको जनाइएको छ ।
गायक तामाङको निधनप्रति नेपाली कलाकर्मीले पनि गहिरो दुःख व्यक्त गरेका छन् । अभिनेत्री केकी अधिकारीले प्रशान्त तामाङलाई इन्डियन आइडल मार्फत संसारभर छरिएका सम्पूर्ण नेपालीभाषीलाई एउटै भावनामा बाँध्न सफल गायकको रूपमा लिएको बताएकी छन् । केकीले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्, ‘असामयिक निधनको खबरले शून्यता महसुस गराएको छ । २०१०–०११ तिर उहाँको स्वरमा सजिएको गीत ‘मनसाइली’मा अभिनय गर्दाका ती अमूल्य पलहरू र ‘परदेशी–२’ मा सँगै काम गर्दाका सम्झनाहरू आज झल्झली मनमा आइरहेका छन् । उहाँको संगीत, सरलता र मुस्कान सधैं हामीमाझ जीवित रहनेछ । प्रिय प्रशान्तजीप्रति हार्दिक श्रद्धाञ्जली ।‘
‘परदेशी’ फिल्मकी अभिनेत्री रजनी केसीले तामाङलाई प्रतिभाशाली कलाकारको रुपमा चर्चा गरेकी छन् । तामाङसँगको एक तस्बिर सेयर गर्दै उनी लेख्छिन्, ‘एकै चलचित्रमा सँगै काम गर्ने अवसर पाएको यस्तो प्रतिभाशाली कलाकार र गायकको असामयिक निधनले अत्यन्त दुःखित बनायो । उहाँको कला र स्मृतिहरू सधैं हृदयमा रहनेछन् । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना ।’
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले प्रशान्तसँगको तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘अल्पायुमै निधन, दु:खद् खबर । प्रशान्तजीको आत्माले शान्ति पाओस् । परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।’
कलाकार निर्मल शर्माले प्रशान्त तामाङ दृष्टिबाट गायब भएपनि सम्झनाबाट कहिल्यै टाढा नहुने बताएका छन् ।
अभिनेता जितु नेपालले पनि तामाङसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै दुःख व्यक्त गरेका छन् । ‘यो अकल्पनीय र अत्यन्तै दुःखद् समाचार लेख्नुपर्दा म अत्यन्तै मर्माहत छु । स्वर्गीय प्रशान्तजीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । भगवानले यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरुन्,’ उनले भनेका छन् । गायक प्रमोद खरेलले ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्यो’ भनेर लेखेका छन् ।
गायिका आस्था राउतले दिवंगत प्रशान्त तामाङको अनन्त शान्तिको कामना गरेकी छन् । उनले प्रशान्त तामाङको निधन नेपालीभाषी सबैका लागि दु:खद् घटना भएको बताएकी छन् । ‘कहिलेकाहीं सामाजिक सञ्जालमार्फत कुरा पनि हुने गरेको थियो । उहाँ नेपालका लागि चिन्तित हुनुहुन्थ्यो,’ आस्थाले भनेकी छन् ।
हास्य कलाकार मनोज गजुरेलले लेखेका छन्, ‘नेपालीभाषी विश्वबासीलाई एउटै मालामा जोड्ने प्रशान्त तामाङप्रति हार्दिक श्रद्धान्जली । यो विशाल समुदायले तपाईंलाई युगौंयुगसम्म सम्झिरहनेछ । स्वर्गमा बास होस् प्रिय प्रशान्त ।’






