चितवन, पुस २७-
राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् ।
लेखक निलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । संस्कृति विखण्डन हुँदा साहित्यमा समेत प्रभाव पर्ने उहाँको भनाइ छ । दुवैको रक्षा गर्नु साहित्यकारसँगै आमनागरिकको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । साहित्य संस्कृतिसँग जोडिएको हुने जनाउँदै उहाँले संस्कृति नबुझी साहित्य लेख्न नसकिने बताउनुभयो । उहाँले इतिहासप्रति रुचि नहुँदा दःुख लागेको बताउनुभयो ।
आदिवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले थारू समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताउनुभयो । चितवनको इतिहासका बारेमा अध्ययता प्रो डा थोमस रमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपूरो हुने बताउनुभयो । सबै समाजको इतिहास हुन्छ नै भन्दै उहाँले अहिले त्यसको अध्ययन हुन जरुरी छ भन्नुभयो । चितवनका थारूहरूले वन, नदी र हावासँगको इतिहास बोकेको भन्दै उहाँले यो जनतासमक्ष पुर्याउन जरुरी रहेको भनाइ राख्नुभयो ।
थारू समुदायको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । थारूका स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्न सकिएमात्रै पनि इतिहास संरक्षण हुनसक्ने उहाँको भनाइ छ ।
सो अवसरमा विज्ञ डा सञ्जय महतोले थारू समुदाय ज्ञान र सीपमा धनी भए पनि मौलिकता संङ्टमा परेकामा चिन्ता व्यक्त गर्नुभयो । विद्यमान थारू संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दू संस्कृति भएको जनाउ उहाँले जङ्गल, खोला, माटो तथा कृषि औजार पुज्ने थारूको परम्परा भएको बताउनुभयो ।
कार्यक्रममा लेखक समीक्षक कृष्णहरि सर्वहारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयतित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको बताउनुभयो । पहिचान सबैभन्दा ठूलो कुरा भएको बताउँदै पहिचान संरक्षणमा सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । रासस






