काठमाडौँ, १९ मङ्सिर :
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ ।
नेपाल सरकार र निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन् ।
आजैमात्र प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल, आयोगसहितसँग सर्वपक्षीय छलफल आयोजना गर्नुभएको छभने आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित घटनाक्रममा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिक सरकार गठन भई प्रतिनिधिसभाको विघटन भएको थियो । सरकारले निर्वाचन सम्पन्न गर्ने कामलाई एक मुख्य कार्यभारका रूपमा लिएको छ ।
यसअघि गत मङ्सिर १४ गतेसम्ममा निर्वाचनमा भाग लिने एक सय २० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।
यही मङ्सिर १ गतेदेखि १० गतेसम्मका लागि निवेदन दिने समय दिइएकामा नयाँ दल सरोकारवालाको सुझावका आधारमा चार दिन समय थप गरी उक्त सङ्ख्याका दलले निर्वाचन प्रयोजनाका लागि निवेदन दिएका हुन् ।
निर्वाचनको वातावरण तयार भइनसकेको र संसद् पुनःस्थापनाको माग गर्दै आएको दल नेकपा (एमाले) लगायत प्रमुख दल र नयाँ दलले आयोगमा निवेदन दिएका छन् ।
आयोगले सो अघि खुला गरेको मतदाना नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आठ लाख नयाँ मतदाता थपिएका छन् । ती नयाँ मतदाताको आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ ।









