मंसिर १६, भरतपुर ।
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ट्राफिक लाइट राख्नका लागि सर्भे सुरू गरिएको छ । बढी भीडभाड र सवारी जाम हुने भरतपुरका ६ ठाउँमा ट्राफिक लाइट राख्न सर्भे सुरू गरिएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार सडक विभागले निर्माण कम्पनीसँग ट्राफिक लाइट जडानका लागि सम्झौता गरिसकेको छ । ‘पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बसपार्क चोक र मालपोत चोक गरी ६ ठाउँमा ट्राफिक लाइट जडान गरिने छ’, महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘भरतपुरको सहरी क्षेत्रमा ट्राफिक लाइट प्रणालीले भरतपुरलाई स्मार्ट सिटी अवधारणातर्फ अघि बढाउने छ, ट्राफिक व्यवस्थापनमा आधुनिकता र सुरक्षामा नयाँ आयाम थप्नेछ ।’
ट्राफिक लाइट राख्न लागिएका यी ६ ठाउँ दुर्घटनाका कारण जोखिमयुक्त छन् । सवारीसाधन बढी जाम हुने ठाउँ पनि हुन् । ट्राफिक लाइट राख्ने जिम्मा एभरेष्ट टु सी–अमर ज्योति जेभीले पाएको छ ।
भरतपुर महानगरका इन्जिनियर साकार लामाले निर्माण कम्पनी एभरेष्ट टु सी–अमर ज्योति जेभीबीच सम्झौता भएर सर्भेको काम सुरू भएको जानकारी दिए । उनका अनुसार एक करोड आठ लाख रूपैयाँको लागतमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । ट्राफिक लाइटको बजेट सडक विभागले विनियोजन गरेको हो । यतिबेला काठमाडौँमा पनि यही कम्पनीले ट्राफिक लाइट जडान गरिरहेको छ ।
‘सर्भेको काम सुरू भएको छ, दुई महिनाभित्र काम सक्छु भनेर निर्माण कम्पनीले बताएको छ’, ई. लामाले भने, ‘त्यो कम्पनीले काठमाडौँमा पनि तीव्र गतिमा काम गरिरहेको हुनाले छिटै काम सक्छ भन्ने विश्वास लागेको छ ।’
ट्राफिक लाइट जडानमा जिल्ला प्रहरी कार्यालयले पनि आफ्नो भूमिका निभाउने छ । जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख अनिल थापाले ट्राफिक लाइट जडानका लागि ‘पोइन्ट’ राख्ने ठाउँ फाइनल गरिएको बताए । उनले भने, ‘जुन ठाउँमा राख्ने भनिएको छ त्यो ठाउँमा पुगेर ‘पोइन्ट’ राख्ने ठाउँ फाइनल गरेका छौँ । ठाउँको अनुगमन, निरीक्षण पनि गर्ने काम सकेका छौँ ।’
ट्राफिक लाइट जडानपछि दुर्घटना न्यूनीकरण हुने उनी बताउँछन् । उनी भन्छन्, ‘ट्राफिक लाइट राखेपछि दुर्घटना घट्छ, ट्राफिक जनशक्ति पनि कम लाग्छ ।’ चोकमा ट्राफिक बसेर हातले इशारा गर्नुपर्ने समस्या पनि ट्राफिक लाइट राखेपछि हट्ने उनले बताए । उनका अनुसार गाडी र पैदलयात्री दुवैलाई हुने गरी लाइट जडान गरिन लागिएको हो ।
‘हामीसँग अहिले ट्राफिक जनशक्ति कम छ, सवारीसाधनको चाप अधिक छ, जामको समस्या थपिँदै गएको छ, दुर्घटना बढेको छ । यस्ता समस्याको न्यूनीकरणका लागि ट्राफिक लाइट आवश्यक छ’, ट्राफिक प्रमुख थापाले भने, ‘सहरलाई सुन्दर राख्न पनि यसको मह¤व हुन्छ ।’ उनका अनुसार हाल चितवनमा ७५ जना ट्राफिक जनशक्ति रहेको छ, ३२ जना भरतपुर क्षेत्रमा खटिन्छन् ।









