चितवन, मंसिर १५ –
एमाले युवा नेता धर्मलाल गिरीले एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।
गिरी यसअघि अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष थिए । उनी अध्यक्षका आकांक्षी समेत रहेका थिए । तर अनेरास्ववियुमा उमेरहद लागेपछि उनी आफ्नो भूगोलको राजनीतिमा सक्रिय बनेका थिए ।
अहिले उनी नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधीमा सर्वसम्मत चयन भएका छन् ।
उनी प्यूठानको गौमुखी गाउँपालिका नारीकोट निवासी हुन् । २०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको क्रममा प्यूठानमा एमालेको जित सुनिश्चित गर्न नेता गिरीले महत्वपूर्ण भूमिका खेलेको थिए ।
धर्मलाल गिरी र रचना सापकोटाले एमालेको केन्द्रीय कार्यालयमा गत फागुनमा प्रगतिशील विवहा गरेका थिए । विवहामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त विवहाको त्यतिखेर निकै चर्चा भएको थियो ।
बिहेको समयमा धर्मलाल गिरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष थिए भने रचना सापकोटा सोही संगठनको केन्द्रीय सदस्य थिइन् ।
अनेरास्ववियुको महाधिवेशनमा ३६ जना सचिव पदका उम्मेदवारमध्ये रचना सापकोटा भारी मतसहित सचिवमा विजयी भएकी थिइन् । अहिले पार्टीको महाधिवेशनमा दुवै जना प्रतिनिधिका रुपमा सहभागी छन् । रचना अनेरास्ववियुबाट र धर्म युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि छन् ।
एमालेभित्र संगठनात्मक अनुभव, विद्यार्थी आन्दोलनमा सक्रियता र निरन्तर राजनीतिक यात्राका आधारमा धर्मलाल गिरीलाई महाधिवेशनमा बलियो दाबेदारका रुपमा हेरिएको छ ।
एमालेले यही मंसिर २७ गतेदेखि काठमाडौंमा ११ औं महाधिवेशनमा गर्दैछ । एमालेको महाधिवेशनमा ४० वर्ष मुनिका युवालाई कोटा नै छुट्याएर महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्ष मुनिका एक जना युवा प्रतिनिधि अनिवार्यरुपमा सहभागि हुँदैछन् ।















