दाङ, मंसिर ९-
सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज नेकपा एमालेको युवा जागरण कार्यक्रम चलिरहेको छ।
जहाँ एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेता छन्।
त्यसको केहीपर भने जेनजी समूहका आबद्ध केही युवाहरूले बस्नेतको विरोध गरिरहेका छन्।
जेनजी समूहका युवा झन्डै पाँच सय मिटर पर बस्नेतको विरोधमा हातमा प्लाकार्ड लिएर उभिएका छन्।
युवा जागरण कार्यक्रम स्थलको सुरक्षार्थ डिएसपी मोहनजंग बुढथापाको नेतृत्वमा प्रहरी खटिएको छ।
जिल्ला प्रहरी प्रवक्तासमेत रहेका बुढथापाले झन्डै पाँच सय मिटर दुई चार जना जेनजी युवाहरू उभिएर विरोध गरे पनि त्यसको कार्यक्रममा कुनै असर नपुगेको तथा भित्र शान्ति पूर्ण रूपमा कार्यक्रम भइरहेको जानकारी दिए।
त्यसअघि बस्नेतको विरोधमा जेनजी समूहका युवाले घन्टाघर क्षेत्रमा पनि प्रदर्शन गरेका थिए।
एमाले नेता बस्नेत सुर्खेत आउने भएपछि प्रहरीले त्यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ।
घण्टाघर आसपासको सडकमा प्रहरीको बाक्लो तैनाथी छ। त्यहाँ सर्वसाधारणलाई हिँड्डुल गर्न समेत रोक लगाइएको छ।
यसअघि पनि नेता बस्नेत लगायतका नेता सिमरामा पुग्दा जेनजी समूहसँग लफडा भएको थियो। स्थिति तनावपूर्ण बन्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यु नै लगाउनु परेको थियो।
एमाले नेता बस्नेत जहाँ पुगे पनि भदौ २३ र २४ को जेनजी आन्दोलनको चर्कौ विरोध गर्दै आएका छन्।


















