विराटनगर,मंसिर ७-
नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । आज हुने युवा संघको कार्यक्रमका लागि सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो । बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका छन् । बस्नेतसहितको टोलीलाई जेन–जी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन् । गौतमले बताएअनुसार जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरूको न्यायको पक्षमा भन्दा जेन–जी आन्दोलनको विरुद्धमा एमाले सक्रिए भएका कारण सांकेतिक विरोधका लागि रातो मसी छ्यापिएको हो । ‘हामीले उहाँको कार्यक्रमलाई रोक्न खोजेको होइन, सांकेतिक विरोधका लागि सचेत गराएका हौँ, तर हामीलाई धरपकड गर्यो’, गौतमले भने ।















