काठमाडौं–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारका जेलर सत्यराज जोशीको बयानसँग विपरीत अभिव्यक्ति दिएका छन् ।
सहकारी प्रकरणमा थुनामा रहेकै अवस्थामा उनले बुधबार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा करिब सात घण्टा १५ मिनेट बयान दिएका हुन् ।
लामिछानेका अनुसार भदौ २४ मा जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि ‘माथिबाट आदेश आएर’ आफूलाई जेलबाट रिहा गरिएको थियो ।
उनले उपसभापति डीपी अर्याल र पत्नी निकितालाई पहिल्यै बोलाइएको भन्दै डीपी अर्याल र मेरी श्रीमतीलाई खबर गरेर बोलाउनुभएको रहेछ भनेका छन् ।
उनका अनुसार कारागार बाहिर सवा घण्टा पर्खिएर उनले आन्दोलनकारीहरूलाई माइकमार्फत सम्झाउने प्रयास गरेका थिए ।
तर, जेलर जोशीले भने प्रदर्शनकारीले कारागार घेरेर लामिछानेलाई निकालिसकेपछि डेढ घण्टापछि मात्रै आफूलाई पत्रमा हस्ताक्षर गराइएको बताएका छन् ।
जोशीका अनुसार रास्वपा नेता–कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि पत्र नपढीकनै हस्ताक्षर गरेका थिए ।
उक्त पत्रमा गृह सचिवको आदेशमा लामिछानेलाई थुनामुक्त गरिएको उल्लेख छ र सहकारी मुद्दालाई राजनीतिक रूपमा हेरिएको संकेत गरिएको थियो ।
रिहाइपछि आफूले तीनवटै सुरक्षा निकायका प्रमुख र अदालतलाई इमेलमार्फत जानकारी गराएको लामिछानेले बताएका छन् ।
उनले पत्रबारे आफ्नो विरुद्ध गलत प्रचार गरिएको दाबी गर्दै भने, ‘माथि अफवाह फैलाइयो ।’
आयोगका एक पदाधिकारीका अनुसार लामिछानेको बयान प्रक्रिया बुधबार पूरा भएको छ ।














