काठमाडौं, कात्तिक १८-
महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।
बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।
सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













