काठमाडौँ, १७ कात्तिक :
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउनुभएको छ । सो निर्वाचनलाई सफल बनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
कतारको दोहास्थित नेपाली राजदूतावासमा आज आयोजित स्वागत कार्यक्रममा सरिक हुने क्रममा सम्बोधन गर्दै उहाँले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्त्वपूर्ण हुने पनि बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।
युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि आन्दोलन गरेको तर यो तापमा रोटी सेकाउन खोज्नेहरू असफल भएकाले संविधान र प्रणाली जोगाउन सकिएको पनि राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले संसारका अन्य देशमा युवाको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको उल्लेख गर्नुभयो ।
कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गर्नुभयो ।
कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज नै त्यहाँ पुग्नुभएका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्चपदस्थ कर्मचारी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले स्वागत गर्नुभएको थियो । उहाँ सम्मेलनका लागि कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुग्नुभएको हो ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













