काठमाडौँ, १ कात्तिकः
यस वर्षको तिहारमा कुनै उल्लेखनीय ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।
महाशाखाले तिहारका विभिन्न दिनहरूका लागि जारी गरेको मौसमी पूर्वानुमान निम्नानुसार रहेको छः
कार्तिक ३ गते (लक्ष्मी पूजा)
लक्ष्मी पूजाको दिन देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ४ गतेः
यस दिन पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना कायमै रहनेछ ।
कार्तिक ५ गते (गोवर्धन पूजा)
गोवर्धन पूजाको दिन देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
कार्तिक ६ गते (भाइटीका)
भाइटीकाको दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले तिहार अवधिभर सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि सचेत रहन आग्रह गरेको छ ।