२८ असोज, काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि म नै राज्य हुँ भन्ने जस्तो गर्नेहरुमाथि मौलिक तरिकाको ‘उपचार’ गर्ने बताएका छन् ।
सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको आज अनसन तोडाउँदै गृहमन्त्री अर्यालले सो कुरा बताएका हुन् ।
सरकार फेरिए पनि कतिपयमा अझै पनि सरकारमै रहेको जस्तो व्यवहार देखिएको भन्दै उनले त्यो विकृति हटाउन क्रियाशील रहेको बताए ।
‘सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो त्यो सरकारले अर्गानिक–वेमा ट्रिटमेन्ट गरिरहेको छ,’ मन्त्री अर्यालले भने, ‘त्यो विकृत हो, त्यो रोग हो । त्यो रोगको ट्रिटमेन्ट अर्गानिक–वे (मौलिक तरिका)मा गरिरहेका छौं हामी ।’
उनले थपे, ‘सरकारको पो नयाँ पाउनुभयो । अरु बाँकी सत्ता कसको छ अहिले पनि ? के कारणले मानिसहरू बकबक गरिरहेका छन् अहिले पनि ? सरकारमा नभए पनि सेनामेना हेर्नुस् न कति जना लिएर हिँड्दा रहेछन् । एउटा मान्छेको पछाडि ५२ जना हुँदोरहेछ कतिपयको ४७ जना हुँदोरहेछ । आइ एम द स्टेट भनेर कसरी भनेका रहेछन् उनीहरूले ।’