कर्णाली, असोज २६-
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरेक काम जनतासँग जोडिएर गर्नुपर्ने बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी र निर्वाचित जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा उहाँले आफूलाई राम्रो लाग्ने काम नभई जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने काममा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताले समर्थन गर्ने काम गर्नुस्, जनताको भावना, सुझाव र अपेक्षालाई प्राथमिकता दिएर अघि बढ्दा मात्र राजनीतिक दल र जनप्रतिनिधिको विश्वसनीयता बलियो हुँदै जान्छ ।”
मुख्यमन्त्री कँडेलले सुरक्षित र स्थिर समाज निर्माण गर्न जनतासँगको सम्बन्ध सुमधुर र विश्वासिलो हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । जिम्मेवारीमा रहेका जनप्रतिनिधिलाई उहाँले वडास्तरमै सहकार्य बढाउन, असामान्य परिस्थिति अन्त्य गर्न र सर्वदलीय बैठकमार्फत साझा समस्या समाधान गर्न निर्देशन दिनुभयो । छलफलमा मुख्यमन्त्री कँडेलले जनप्रतिनिधिलाई आफ्ना कामको नियमित समीक्षा गर्न, गल्ती सुधार गर्न र सही अभ्यासलाई संस्थागत बनाउन आग्रह गर्नुभएको थियो ।रासस