काठमाडौं, असोज १८ :
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शनिबारसम्म कार्यालय पुग्न कर्मचारीलाई निर्देशन दिएको छ। काठमाडौं भित्रने र बाहिरिने सवारी साधन ३ दिन राजमार्ग बन्द गरेको सूचना जारी भएको केहि घण्टा नबित्दै कार्यलय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले निर्देशन दिएको हो।
सामान्य प्रशासन मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछाने अन्त्यन्त जरुरी सूचना जारी गर्दै सवै जिल्ला समन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन अनुरोध गरेका हुन्। मन्त्रालयले विपद्को सतर्कता अपनाउन, पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन दिएको हो।
‘जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ असोज १७ देखि २० गते सम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको हुंदा आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई २०८२ असोज १८ गते सम्ममा अनिवार्य रूपमा कार्यस्थल पुगी सक्ने व्यवस्था मिलाउनु हुन तथा सोही अनुसार सतर्कता अपनाउन, पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट निर्देशन प्राप्त भएको हुँदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ ’सूचनामा भनिएको छ।
राजमार्ग बन्द
सरकारले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द गरेको छ। देशका अधिकांश स्थानमा वर्षा हुन थालेको र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि ३ दिन यातायात बन्द गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८ – २० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।’ प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा भनिएको छ,‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने / बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’








