काठमाडौं, असोज १-
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो ।
आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् ।
बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ ।
‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकलाई सुन र नगदको क्षति भएको छ,’ रेग्मीले भने, ‘सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













