काठमाडौँ, २८ भदौः
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकलाई कठिन संक्रमणकालबाट पार लगाउन जिम्मेवारी पाएकी प्रथम महिला प्रधानमन्त्रीको नेतृत्वमा गठित अन्तरिम सरकारलाई सशर्त समर्थन गर्ने जनाएको छ ।
संविधान पालनाको विषयमा प्रश्न उठेका बेला रास्वपाले भदौ २३ मा जेनजी पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको स्मरण गराएको हो ।
महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी गरिएको विज्ञप्तिमा रास्वपाले आफ्नो स्थापनाकालदेखि नै भ्रष्टाचार र कुशासनविरुद्ध संघर्षशील रहेको स्मरण गराएको छ ।
पार्टीले यसअघि भदौ २६ गते जारी गरेको प्रस्तावमाथि पनि जोड दिएको छ ।
रास्वपाले अन्तरिम सरकारबाट विभिन्न अपेक्षा राखेको छ ।
आउँदो फागुन २१ गते तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको पार्टीले उल्लेख गरेको छ ।