२७ भाद्र,धरान ।
धरानस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्न पसेका चार जनाको जलेर मृत्यु भएको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सामान चोर्न भित्र पसेका थिए, त्यतिबेले अर्को अराजक भीडले सुपरमार्केटमा आगो लगाइदियो र उनीहरूको ज्यान गयो ।
प्रहरीले जनाएको अनुसार शवहरू पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका छन् । उनीहरूको शरीरको केही अंश मात्र फेला परेका छन् । आन्दोलनका क्रममा केही समूहले बन्द अवस्थामा रहेको भाटभटेनीको सटर तोडेर आगो लगाएको थिए । आगो तीव्र गतिमा फैलिएपछि उनीहरू बाहिर निस्कन सकेनन् ।
मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको हो । दोस्रो तलामा एक जनाको जलेको शव शुक्रबार बिहान भेटिएकामा दिउँसो चौथो तलामा थप तीन शव फेला परेका थिए । मृतकको परिचय भने खुल्न बाँकी छ ।
भाटभटेनीको देशभर रहेका स्टोमध्ये ११ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । कोशी प्रदेशमा रहेको भाटभटेनीका विर्तामोड, दमक, विराटनगर, धरानमा रहेका स्टोरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । हेटौंडा, पोखरा र भरतपुरको स्टोर पनि पूर्णरुपमा क्षति भएको छ । उपत्यका बाहिर रहेका भाटभटेनीका ७ वटा स्टोर जलेर पूर्णरुपमा ध्वस्त भएका छन् । ती स्टोरमा रहेका सामान मात्रै नभएर भवन समेत काम नलाग्ने अवस्थामा पुगेका छन् ।
काठमाडौं उपत्यकामा बालुवाटारमा रहेको मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेको स्टोर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।