२७ भदौ, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा एनओसी जारी गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई मन्त्रालयको सानोठिमीस्थित शाखाले एनओसी जारी गरेको हो ।
शाखा प्रमुख वासुदेव वस्तीका अनुसार १४१ एनोसी जारी गरेको, ८ वटा पुरानो रद्द गरेको र एउटा प्रोभिजनल एनओसी दिइएको छ । ‘कसैको शुल्क तिर्नुपर्ने हुन्छ । पैसा खर्च गरेर पढ्न जान लागेको हुन्छ । एनओसीका कारण विद्यार्थीलाई असहज नहोस् भनेर काम गरिरहेका छौँ,’ उनले भने ।
शाखाले ४६९ वटा सत्यापन र २५८ वटा एनओसी कागजात नपुगेर रद्द गरेको छ । हिजो बेलुका ८ बजेसम्म अनलाइनमा एनओसीका लागि ११८ जनाले आवेदन दिएका छन् ।
शाखाले अनलाइनबाट काम गरिरहेको छ । ‘आवश्यक पर्यो भने अतिरिक्त समय दिएर काम गर्छौं । विद्यार्थीलाई असर नपर्ने गरी छिटो सेवा दिइरहेका छौँ । शनिबार पनि काम गर्न तयार छौं’ उनले भने ।