पर्वत, भदौ २२-
झण्डै दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।
महाशिला गाउँपालिका–६ फलामखानीमा करोडाँै रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायुऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।
लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायुऊर्जा केन्द्रलाई पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र विसं २०६३ मा तीन वर्षपछि नै बन्द भएको थियो ।
‘टिटिबिजी’ नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायुऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु उर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिनुभयो । त्यसमा भएको लगानी पनि डुबेको उहाँको भनाइ छ ।
फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिकमात्रामा हावा लाग्ने भएकाले उक्त वायुऊर्जा स्थापना गरिएको थियो । वायुऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा,लगायत सयाँै घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । तर अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताउनुभयो ।
त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनःपरीक्षण गरी अगाडि बढाउन सकिने उहाँले बताउनुभयो ।
उक्त योजनाबाट पुनःविद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्न जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टअनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हँुदै आएको थियो । वायुऊर्जा आयोजना पुनर्निर्माण गर्नसकेमा फलमखानी करिब ३०० घरधुरी र छिमेकी वडा भँगरा तथा पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ ।
गाउँपालिकाले उक्त वायुऊर्जा आयोजनाकाबारेमा विस्तृत अध्ययन गरी पुनःसञ्चालन कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताउनुभयो । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने बताउनुभयो । रासस