१८ भदौ, काठमाडौं ।
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषय जनतासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय रहेको उनले बताए ।
‘सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस्,’ नेम्वाङले भनेका छन् ।
इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले जनतालाई थप सास्ती, हैरानी र झन्झट मात्र बढाएको नेम्वाङ बताए ।
सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार भएको बताउँदै उनले अघि भने, ‘गाडी किन्न साथ उच्च कर, हरेक वर्ष अनिवार्य बीमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा ।’
यस्ता प्रश्नहरू जनताको तहबाट उठेको उनले जानकारी गराए ।
‘यहाँ जनताको तहबाट प्रश्नहरू उठेका छन्, इम्बोस्ड नम्बर प्लेटको उद्देश्य के हो ? के हामी सँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ?,’ उनले भने, ‘जब हजारौँ नागरिकले वर्षौँ कुर्दा पनि लाइसेन्स पाएका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा एम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदैछ ?
जनताले भाषा र भावनासँग जोडेर पनि इम्बोस्ट नम्बर प्लेटमाथि प्रश्न उठाएको भन्दै त्यो गहिरो भावनालाई वेवास्ता गरिन नहुने बताए ।