काठमाडौँ १० भदौ
नेपाली हिन्दु महिलाहरूको महान् पर्व तिज मंगलबार (आज) परेको छ । यस पर्वमा महिलाहरू रातो साडी र सोह्र शृङ्गारमा सजिएर नाचगान गर्छन् । त्यसैले तिजको सिजन लागेपछि बजारमा कपडा र सौन्दर्यको बजार चलायमान हुने गरेको छ ।
विगतका वर्ष जस्तै यो वर्ष पनि तिज आउनु केही दिनअघि मुख्य बजारहरूमा कस्मेटिक पसलेहरूको व्यस्तता बढेको थियो ।
यस्तै, कपडा पसलमा साडी किन्नेहरूको चाप पनि उत्तिकै छ । चुरा पोते, टिका धागो पाइने पसलहरूमा पनि महिलाहरू लाइन लागेका थिए । उक्त लाइन अनुसार व्यवसायीहरू सन्तुष्ट छन् । व्यवसायीहरूका अनुसार विगतका वर्षको भन्दा हरेक बस्तुहरूको व्यापार कम हुँदै गएको छ । तर यो वर्ष समग्रमा व्यापार राम्रो भएको उनीहरूको भनाइ छ ।
विगतका वर्षहरूमा पसलमा नै आएर सामान खरिद गर्ने गर्थे भने अहिले अनलाइन व्यापारको कारण बजारमा कम रहेको उनीहरूको भनाइ छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले यस वर्षको तिज पर्वमा चुरा, पोते, साडी जस्ता सामग्रीको व्यापार उत्साहजनक रहेको बताए । उनका अनुसार, तिजमा प्रयोग हुने अधिकांश सामग्री छिमेकी मुलुक भारतबाट सहज रूपमा आयात भएकाले बजारमा सामानको अभाव नभई व्यापार राम्रो भएको हो ।
अध्यक्ष श्रेष्ठले भने, ‘सबै साडी, कुर्ता, टीका, चुरा पोतेहरू नजिकैको छिमेकी मुलुक भारतबाट आउँदा यसले बजारमा सकारात्मक असर ग-यो । सही समयमा सामान आयो, सहज तरिकाले बजारमा सामान गयो ।’ यसले गर्दा उपभोक्ताले सरल र सर्वसुलभ मूल्यमा सामान खरिद गर्न पाएको उनको भनाइ छ ।
तिजका लागि आवश्यक लगभग सबै सामग्री भारतबाटै आयात हुने भएकाले अन्य क्षेत्रको व्यापारमा जस्तो यसमा असर नपरेको उनले स्पष्ट पारे ।
उनले भने,‘ तिजको व्यापार त राम्रै हो किनभने तिजको अलमोस्ट सबै जति पनि तिजको आइटमहरू युज हुन्छ, योचाहिँ भारतबाटै आउने आइटमहरू छ ।’
बजारमा तिजको राम्रो चहलपहल र मुभमेन्ट देखिएको बताउँदै समग्रमा तिजको व्यापार सन्तोषजनक रहेको र नराम्रो नभएको उनकोे धारणा थियो ।
साउन महिनामा मात्रै १० करोड ७३ लाखको चुरा पोते आयात
भन्सार विभागको तथ्याङ्कले जित लक्षित ठुलो आर्थिक कारोबार देखाउँछ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै महिलाले लगाउने सारी १५ करोड ४८ लाख ५ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।
जसबापत सरकारले ३ करोड ८१ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २० करोड ९३ लाख १० हजार रुपैयाँ बराबरको सारी आयात हुँदा २९ करोड ७५ लाख ४१ हजार रुपैयाँ राजस्व उठेको थियो।
त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा कुर्ता सुरुवाल २२ करोड ६९ लाख बराबरको भित्रिँदा गत आर्थिक वर्षभरिमा १६ करोड ६५ लाख ५७ हजार रुपैयाँको आयात भएको थियो।
शृङ्गारका सामग्रीको आयात पनि उस्तै छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो साउन महिनामा चुरा र टीकाहरू मात्रै ९ करोड ३४ लाख ४४ हजार रुपैयाँको आयात भएको छ । त्यस्तै, यही अवधिमा पोते मात्रै १ करोड ३९ लाख बराबरको आयात हुँदा ३९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसरी चुरा र पोते गरी एक महिनामा १० करोड ७३ लाख रुपैयाँभन्दा बढीको सामान भित्रिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ भरीमा भने चुरा, टिका र पोते गरी कुल ७६ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको थियो।
विभागका अनुसार नेपालमा आयात हुने यी शृङ्गारका सामग्रीहरूमा चुरा, पोते, मेहन्दी, लिप मेकअप, आइ मेकअप जस्ता वस्तुहरू पर्दछन्, जुन मुख्यतया भारत, चीन, थाइल्यान्ड, बङ्गलादेश लगायतका मुलुकबाट आउने गरेका छन्।