काठमाडाैं भदौ २,
वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
उनका भतिजा तथा वामपन्थी नेता केशवलाल श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै नन्दनको आइतबार राति ९:३० बजे उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
तनहुँको बन्दीपुरमा १९९२ सालमा जन्मिएका नन्दनको वास्तविक नाम प्रेमलाल श्रेष्ठ हो । उनी तनहुँबाट बसाइँ सरेर चितवन पुगेका थिए।
नन्दन लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नन्दनको आजै देवघाटमा दाहसंस्कारको तयारी गरिएको छ । अहिले उनको पार्थिव शरीरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनी नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकार समेत हुन् ।
नन्दन साहित्य लेखनसँगै नाटकको लेखन, निर्देशनसहित गीत गायनमा पनि तल्लीन थिए । उनले पहिलोपटक २०११ सालमा व्यवस्थाविरुद्ध ‘झटारो’ नामक कृति प्रकाशन गरेका थिए ।
नन्दनले प्रेमध्वज प्रधानका केही गीतको लेखन गरेका छन् । त्यसमध्ये ‘यही हो नेपाल, नेपालीको घर…’ निकै सुनिएको गीतमा पर्छ ।
नन्दनले लेखेका गीतमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन्।
चलचित्र मोहनीमा अत्यधिक रुचाइएको गीत ‘यो गाउँको ठिटो म कान्छा मेरो नाम’ पनि उनले लेखेका हुन् । शम्भुजीत बास्कोटाको संगीत र उदीतनारायणको स्वरमा उक्त गीत तयार भएको थियो ।
चलचित्र कर्जामा उनले लेखेको गीत ‘ज्यानको माया नैनारेशम छ दायाँबायाँ, ज्यानले गर्दा नैनारेशम मैले पो गाल खाँया…’ पनि अत्यधिक रुचाइएको गीत थियो ।
कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जालगायतका नेपाली चलचित्रमा उनले लेखेका गीतहरू चर्चित बनेका थिए ।
नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काव्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् ।
नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।