काठमाडौं, साउन २९-
महाकाली नदीमा पानीको बहाब उच्च भएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको हो । बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाब एक लाख भन्दा बढी भएमा सुरक्षाका दृष्टिकोणले खतरा मानिन्छ ।
नदीमा पानीको बहाब बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । त्यसैले चार पाङ्ग्रे र दुई पाङग्रे सवारी साधन तथा मानिसहरुको समेत आउ–जाउ बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
भारततर्फ पर्ने शारदा ब्यारेज केन्द्रले पनि सूचना जारी गर्दै आगामी केही घण्टा अझै वर्षा हुने सम्भावना रहेको र बहाब अझै बढ्ने सम्भावना रहेकाले पुल हुँदै यात्रा गर्न रोक लगाइएको जनाएको छ ।






