भक्तपुर, २२ साउनः
गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिने बताउनुभएको छ ।
आज नगरकोटमा आयोजना गरिएको सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा उहाँले अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चितता गरिने बताउनुभएको हो ।
गृहमन्त्री लेखकले भन्नुभयो, “जुन ठाउँमा हामीले पूर्वसूचना दिनसक्यौँ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानवीय क्षति भएको छैन । जुन ठाउँमा पूर्वसूचना दिन सकेनाँ तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि त्यस क्षेत्रमा मानवीय क्षति भएको छ ।”
हालै रसुवामा आएको बाढीबारे पूर्वजानकारी नहुँदा जनधनको क्षति भएको बताउँदै गृहमन्त्री लेखकले गत वर्ष कञ्चनपुरमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा हुँदा पनि पूर्वसूचनाका कारण मानवीय क्षति नभएको उल्लेख गर्नुभयो ।